गान्धीको स्मरण गर्दै अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाइदै

२०७७ आश्विन १६ शुक्रबार, काठमाडौं । महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा आज ‘अन्तर्राष्ट्रिय अहिंसा दिवस’ विश्वभरी मनाईदै छ । महात्मा गान्धीका रुपमा निचिनु भएका मोहनदास करमचन्द गान्धी जन्मेको दिन हरेक बर्षको अक्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवस बनाउने निर्णय संयुक्त राष्ट्रसंघले नै गरेको हो ।

राष्ट्रसंघको यो निर्णयले गान्धीलाई विश्वव्यापी नेताका रूपमा स्थापित गर्नुका साथै आजको पुस्तामा स्मरणीय बनाइरहन मद्दत पनि गरेको छ।
एकातिर भारतबाट अंग्रेज धपाउने र अर्कातिर हिन्दू–मुस्लिम सौहार्दता कायम राख्ने उद्धेश्यका लागि उहाँले बीचको बाटो खोज्ने क्रममा अहिंसात्मक आन्दोलनको बाटो रोज्नु भएको हो ।

बंगालमा भड्किएको हिन्दू–मुस्लिम दंगा रोक्न उहाँ अनशनमा बस्नु भएको थियो । धर्मका आधारमा भारत र पाकिस्तान छुट्याउने घोषणा भएपछि त्यसले जन्माएको अस्तव्यस्तता, अराजकता र हिंसाबाट व्यथित गान्धी बंगाललाई शान्त बनाएर नफर्किंदै दिल्लीलाई पनि साम्प्रदायिक हिंसाको आगोले लपेटिसकेको थियो । एकातिर टाल्यो, अर्कोतिर चुहिने कहालिलाग्दो अवस्थालाई नैतिक बलका आधारमा नियन्त्रण गर्ने कोशिशले नै उहाँलाई अहिंसावादी पहिचान दिलाएको हो ।

अहिंसालाई जीवन–दर्शनको रूपमा अँगालेका र कर्मले ‘महात्मा’ उपनाम पाएका गान्धी स्वयम् भने हिंसाकै शिकार भई मृत्युवरण गर्नु पर्यो ।
भारतको राजधानी दिल्लीस्थित आफ्नो आश्रममा साँझ प्रार्थना गर्न निस्किंदै गर्दा हिन्दू अतिवादी नाथुराम गोड्सेले चलाएको गोलीबाट ३० जनवरी, १९४८ मा महात्मा गान्धीको निधन भएको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार