यी हुन् कोरोना संक्रमित विश्वचर्चित नेता

२०७७ आश्विन १६ शुक्रबार, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएकासँगै उनी पनि कोरोना भाइरसबाट संक्रमित विश्व नेताहरुको सूचीमा परेका छन् ।

trump.jpg

यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु समेत कोरोनाबाट संक्रमित भएका थिए । उनीहरुको छोटो चर्चा यहाँ गरिएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन

bfe45cab158c4fc18b4392030e789428_18.webp

बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोनाबाट सङ्क्रमित हुने विश्व नेताहरुमध्ये पहिलो हुन् । उनलाई गत अप्रिलमा सङ्क्रमित भएपछि आइसियुमै राख्नुपरेको थियो । उनलाई अस्पतालमा भर्ना गरेर आक्सिजन नै दिनुपरेको थियो । तर भेन्टिलेटरको आवश्यकता भने परेको थिएन । उनले एकान्तवासमै बसेर पनि केही सीमित व्यक्तिहरुसँग कुराकानी गर्दै आफ्नो कामहरु पनि गरेका थिए ।

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो

bolsonaro.webp

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई गत जुलाईमा कोरोना संक्रमण भएको थियो । उनले संक्रमित भएको बेला मलेरियाविरुद्धको औषधि प्रयोग गरेर कोरोनाका लागि मलेरियाविरुद्धको औषधिले काम गर्छ भन्ने सन्देश पनि दिन खोजेका थिए । त्यो अहिले पनि अप्रमाणित नै रहेको छ । उनले सामाजिक दूरी काम गर्ने, माक्सको प्रयोग गर्नेलगायत मान्यतालाई बेवास्ता गर्ने गरेका थिए । उनी लकडाउन विरोधी नेताका रुपमा पनि चिनिन्छन् । उनको श्रीमती पनि संक्रमित भएकी थिइन् ।

होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेज

honduras.jpg

होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजलाई गत जुन महिनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । राष्ट्रपति हर्नान्डेजसँगै उनकी श्रीमती र दुईजना सहयोगीमा पनि संक्रमण देखिएको थियो । तर आफूमा लक्षण भने सामन्य मात्रै देखिएको उनले बताएका थिए । उनले आफूमा संक्रमण भए पनि आफ्नो काम भने विद्युतीय माध्यमबाट गरेका थिए ।

ग्वाटेमालाका राष्ट्रपति एलेजन्ड्रो गियामाते

gwatemala.jpg

कोरोनाबाट संक्रमित भएका विश्व नेताहरुको सूचीमा ग्वाटेमालाका राष्ट्रपति एजेन्ड्रो गियामाते पनि छन् । उनलाई गत सेप्टेम्बरमा सङ्क्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि टेलिभिजन सम्बोधनमार्फत उनले आफूलाई कुनै लक्षणहरु भने नदेखिएको उल्लेख गरेका थिए । उनले पनि आफू छुट्टै बस्ने र कार्यालयका काम भने गरिरहने बताएका थिए ।

बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज

bolivia.jpg

बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज पनि कोरोनाबाट संक्रमित भएका थिए । उनलाई गत जुलाईमा संक्रमण भएको हो । सङ्क्रमित भएपछि उनी आइसोलेसनमा बसेका थिए । उनले त्यो बेलामा कुनै असजिलो भने महशुस गरेका थिएनन् । कोरोनाबाट संक्रमित हुने उनी ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख थिए । त्यसअघि ब्राजिली राष्ट्रपति बोल्सेनारो र होन्डुरसका राष्ट्रपति हर्नान्डेजमा पनि संक्रमण पुष्टि भएको थियो । अनेजको कार्यालयका केही सदस्यहरुमा संक्रमणको पुष्टि भएपछि उनको पनि परीक्षण गराउँदा संक्रमण देखिएको हो । बोलिभियामा सरकारका चारजना शीर्ष अधिकारीमा समेत कोरोना संक्रमणको पुष्टि भएको थियो ।

डोमिनिकल रिपब्लिकका राष्ट्रपति लुइस अबिनाडेर

dominican_republic_president-elect_luis_abinader.jpg

गणतन्त्र डोमिनिकल रिपब्लिककाका नवनिर्वाचित राष्ट्रपति लुइस अबिनाडेर जुलाईमा कोरोनाबाट संक्रमित भएका थिए । उनी आफ्नो चुनाव प्रचारप्रसार अभियानकै क्रममा संक्रमित भइ संक्रमणमुक्त भएको समाचारमा जनाइएको छ । उनले आफ्नो निर्वाचन हुनुअघि नै एकहप्ता लामो आइसोलेसनमा पनि बस्नुपरेको थियो ।

इरानका उपराष्ट्रपति र मन्त्रीहरु

iran.jpeg

कोरोना भाइरसको महामारीको मध्यपूर्वको केन्द्रविन्दु बनेको इरानका पनि उपराष्ट्रपति र मन्त्रीहरु कोरोना भाइरसबाट संक्रमित भएका थिए । देशका वरिष्ठ उपराष्ट्रपति इशाक जाहानगिरी र उपराष्ट्रपति मस्सौमेह इब्तेकरमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसबाहेक मन्त्रिपरिषद्का अन्य सदस्यहरु पनि संक्रमित भएका थिए ।

यीबाहेक रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, आर्मिनियाका प्रधानमन्त्री निकोल पसिनयान, बेलायतका राजकुमार चाल्र्सलाई पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी धेरै देशका सरकार तथा राष्ट्र प्रमुखका श्रीमती तथा परिवारजन र धेरै देशका मन्त्रीसहितका उच्च अधिकारीहरु पनि कोरोनाबाट सङ्क्रमित भएका थिए । यो समाचार तयार पार्दासम्म विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी १० लाख २८ हजार १९६ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट संसारभरी कुल तीन करोड ४५ लाख १७ हजार ४४६ जना संक्रमित भएका छन् भने ती मध्ये दुई करोड ५६ लाख ८८ हजार ७७२ जना ंक्रमणमुक्त भएका छन् । संक्रमित भएकाहरुको संख्या अनुसार हेर्दा सबैभन्दा धेरै संक्रमितहरु अमेरिकामा रहेका छन् । अमेरिकामा अहिलेसम्म ७४ लाख ९४ हजार ६७१ जना संक्रमित हुँदा दुई लाख १२ हजार ६६० जनाको मृत्यु भएको छ ।

त्यसैगरी संक्रमितहरुको धेरै संख्याका आधारमा भारत, ब्राजिल, रुस, कोलम्बिया, पेरु, स्पेन, अर्जेन्टिना, मेक्सिको र दक्षिण अफ्रिका क्रमशः अग्र १० स्थानमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार