पीएसजीको जितमा नेइमारको दुई गोल

२०७७ आश्विन १७ शनिबार, काठमाडौं । फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेनले एन्जर्समाथि फराकिलो जित निकालेको छ। पार्क डेस प्रिन्सेस स्टेडियममा भएको खेलमा पीएसजीले ६-१ गोलको फराकिलो जित निकालेको हो।

पीएसजीको जितमा नेइमारले दोहोरो गोल गर्दा एलेससान्ड्रो फ्लोरेन्जी, जुलियन ड्राक्सलेर, इड्रिसा ग्वेए र किलियन एम्बापेले गोल गरे। उता एन्जर्सका लागि इमाइल ट्राओरले गोल गरे।

खेलको ७ औं मिनेटमै फ्लोरेन्जीले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै ३६ मिनेटमा नेइमारले गोल गर्दा पहिलो हाफमा पीएसजीले २ गोलको अग्रता बनायो।

दोस्रो हाफमा पीएसजीको गोलान्तर नेइमारले नै बढाए। उनले ४७ औं मिनेटमा गोल गरे। तर त्यस्को पाँच मिनेटमा एन्जर्सका लागि ट्राओरले गोल फर्काए। तर त्यो पीएसजीलाई रोक्न पर्याप्त भने भएन।

खेलको ५७ औं मिनेटमा ड्राक्सलेरले पीएसजीका लागि गोल गरे। त्यस्तै ७१ औं मिनेटमा नेइमारको पासमा ग्वेएले गोल गर्दा एम्बापेले ८४ औं मिनेटमा गोल गरे। र, पीएसजीले ६-१ को सानदार जित निकाल्यो।

जितसँगै पीएसजी अंकतालिकाको दोस्रो स्थानमा चढेको छ। सुरुका दुई खेलमा पराजय भोग्दै लिग सुरु गरेको पीएसजी पछिल्ला ४ खेलमा अपराजित छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार