भारतीय प्रधानमन्त्री- सेनाले सीमालाई सुरक्षित राख्छ

२०७७ असार ६ शनिबार, एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सीमाभित्र विदेशी सुरक्षा फौज नरहेको र आफ्नो भूभाग पनि नगुमेको बताएका छन्। विवादित हिमाली क्षेत्रमा भएको झडपमा आफ्नो तर्फबाट कति हताहती भयो भन्ने सूचना चीनले अझै सार्वजनिक गरेको छैन। दुई परमाणु शक्ति राष्ट्रले कमजोर तरिकाले सीमा छुट्याइएको क्षत्रमा सीमा पार गरेर लडाइ निम्त्याएको आरोप एकअर्कालाई लगाएका छन्।

भारतले लद्दाखस्थित गलवान उपत्यकामा भएको लडाइका क्रममा दुवै पक्षलाई क्षति पुगेको जनाएको छ। शुक्रवार टेलिभिजनमार्फत दिइएको एउटा वक्तव्यमा मोदीले भारतीय भूभागको रक्षाका लागि भारतीय सशस्त्र फौजलाई “आवश्यक कदमहरू चाल्नका लागि अधिकार” दिइएको बताए।

“चीनले चालेका कदमहरूबाट पूरै देशले चित्त दुखाएको छ र आक्रोशित बनेको छ,” उनले भने, “भारत आफ्नो सार्वभौमसत्तालाई शिरमा राखेर शान्ति र मित्रता चाहन्छ।” सोमवारको झडपपछि बोल्दै मोदीले भने, “न कोही हाम्रो भूभागमा छ न हाम्रो कुनै चौकी कब्जा भएको छ।”

बन्दुक र विस्फोटक पदार्थ उक्त क्षेत्रमा ल्याउन नपाइने सन् १९९६को सम्झौता अनुसार गोलीगट्ठा बिना भएको लडाइका क्रममा कम्तीमा ७६ जना भारतीय सेना घाइते भएको बताइएको छ। बिहीवार देखापरेको एउटा तस्बिरमा लाठी मुङ्ग्रोजस्ता हातहतियार लडाइका क्रममा प्रयोग गरिएको थियो।

किला गाडेको फलामे डण्डी देखिने तस्बिर भारतीय एकजना वरिष्ठ सैन्य अधिकारीले बीबीसीलाई पठाएका थिए। भारत-चीन सीमामा रहेका ती सैन्य अधिकारीले उक्त हतियार चीनले प्रयोग गरेको बताए।

त्यो तस्बिर सामाजिक सञ्जाल ट्वीटरमा ब्यापक रुपमा शेअर गरिएको थियो र त्यसले सामाजिक सञ्जाल प्रयोगकर्तामाझ आक्रोश निम्त्याएको थियो। तर त्यसबारे भारतीय वा चिनियाँ अधिकारीले कुनै प्रतिक्रिया जनाएका छैनन्। सञ्जारमाध्यममा आएका खबरहरू अनुसार ४,३०० मिटरको उचाइमा रहेको झडपहरू भएको थियो। कठिन उक्त भूभागबाट केही सेनाहरू शुन्य डिग्री तापक्रम रहेको तीव्र गतिमा बगिरहेको गलवान नदीमा खसेका थिए।

चीनले हजारौं सुरक्षाकर्मीलाई गलवान उपत्यकामा पठाएको र ३८,००० वर्गकिलोमिटर क्षेत्र ओगटेको आरोप भारतले लगाउने गरेको छ।सीमा विवाद समाधानका लागि पछिल्ला तीन दशकमा बसेका थुप्रै वार्ताहरू विफल भएका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार