१५ वटा अन्तर्राष्ट्रिय चार्टर उडान

२०७७ असार ७ आइतबार, काठमाडौं ।व्यावसायिक अन्तर्राष्ट्रिय उडानमा सरकारले रोक लगाएको तीन महिनायता शनिबारमात्रै १५ वटा चार्टर उडान भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार, शनिबार राति ९ बजेसम्म १५ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएको हो । यो संख्या चैत ९ गते यताकै सबैभन्दा धेरै हो ।

‘शुक्रबार १३ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका थिए । शनिबार १५ वटा हुँदा यो संख्या लकडाउन यताकै सबैभन्दा धेरै हो,’ महाप्रबन्धक केसीले कान्तिपुरसँग भने । विमानस्थलका अनुसार, शनिबार रातिसम्म अन्तर्राष्ट्रियतर्फ आउने र जानेगरी १५ वटा चार्टर भएका हुन् ।नेपाल वायुसेवा निगमको विमान मलेसिया पुगेर २ सय ४५ यात्रु र ११ वटा नेपाली कामदारको शव ल्याएर साँझ साढे ६ बजे फर्किएको थियो ।

त्यस्तै हिमालय एयरलाइन्सले ढाकाबाट १ सय ५५ नेपालीलाई ल्याएर आइपुगेको छ । त्यस्तै नेपालीलाई उद्धार गर्न शुक्रबार जापान उडेको नेपाल वायुसेवा निगमको विमानले नारिताबाट शनिबार २ सय ३९ यात्रु बोकेर ल्याएको छ । त्यस्तै शनिबार निगमले एउटा विमानलाई रित्तै रियाद र अर्को विमानलाई दोहो पठाएको छ । ती दुबै आइतबार काठमाडौं फर्किने छन् ।

विदेशी वायुसेवातर्फ २ सय २८ यात्रु ल्याएर आइपुगेको कोरियन एयरले काठमाडौंबाट २ सय ३३ यात्रु लिएर फर्केको थियो । कुवेतबाट १ सय ५० यात्रु ल्याएर आएको जजीरा एयर फर्किँदा रित्तै उड्यो । त्यस्तै दोहाबाट ११ टन कार्गो ल्याएर आएको कतार एयरवेज ३ सय यात्रु लिएर फर्किएको थियो । सारजहाबाट १ सय ६९ यात्रु ल्याएर आएको एयर अरबिया काठमाडौंबाट साँझ रित्तै फर्किएको थियो ।

शनिबार आन्तरिकतर्फ ६ वटा चार्टर अनुमति भए पनि मौसमका कारण लुक्ला र बाग्लुङका लागि तय भएका तीनवटा उडान रद्द भए । सीता एयरले काठमाडौंबाट सिमिकोटका लागि एउटा चार्टर उडान गरेको थियो । हेलिकप्टरतर्फ सिम्रिक र मनाङले चार्टर उडान गरेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार